श्रावण १०, २०८३ आइतबार July 26, 2026

दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा

विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर, १९ मङ्सिरः शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित दशरथ आधारभूत विद्यालयका विद्यार्थी अहिले कम्प्युटरको आधारभूत ज्ञान लिन थालेका छन् । स्थानीय समाजसेवी मानसिंह तिरुवाले विपन्न परिवारका बालबालिकालाई आधुनिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई छ वटा कम्प्युटर सहयोग गरेपछि विद्यार्थीहरू पहिलोपटक व्यवस्थित रूपमा कम्प्युटर शिक्षा लिन सक्षम भएका हुन् ।
कम्प्युटर उपलब्ध भएपछि कक्षा ४ र ५ का विद्यार्थीले सहज रूपमा कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ र देशविदेशका विविध शैक्षिक सामग्री हेर्न सक्ने सुविधा पाएका विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले बताउनुभयो । उहाँका अनुसार दक्ष शिक्षकको व्यवस्था गरी कम्प्युटरको प्रारम्भिक सीप सिकाउने काम नियमित रूपमा भइरहेको छ ।
“कम्प्युटरको व्यावहारिक ज्ञानमा जोड दिएर विद्यार्थीलाई टाइपिङमा दक्ष बनाउँदैछौँ”, प्रअ भण्डारीले भन्नुभयो, “विद्यालयको आन्तरिक स्रोतमार्फत कम्प्युटर कक्षाका लागि फर्निचर र इन्टरनेटको व्यवस्था मिलाएका छौँ । इतिहास, विज्ञान, प्रविधि तथा विश्व घटनाक्रमबारे विद्यार्थीलाई जानकारी दिन कम्प्युटर निकै प्रभावकारी माध्यम बनेको छ ।” उहाँका अनुसार विद्यालयमा अतिविपन्न, दलित तथा जनजाति समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् ।
कम्प्युटर कक्षा सुरु भएपछि विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रूपमा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विकले बताउनुभयो ।  “पहिले विद्यार्थी सङ्ख्या कम थियो, अहिले सङ्ख्या बढ्दै एक सयको हाराहारीमा पुगेको छ”, उहाँले भन्नुभयो । अधिकांश अभिभावक रोजगारीका लागि भारत जाने भएकाले विद्यार्थी सङ्ख्या स्थिर राख्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।
“कति विद्यार्थी अभिभावकसँगै भारत जान्छन्, केही महिनापछि मात्र फर्कन्छन् । फर्किएपछि फेरि कक्षामा समावेश गराएर पठनपाठन अघि बढाउनुपर्छ”, अध्यक्ष विकले भन्नुभयो । विपन्नताका कारण भारतमा रोजगारीका लागि अभिभावकले जानुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ ।
विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै बालबालिका चिसो मौसममा न्यानो रहुन् भनेर अमेरिकामा बसोबास गर्ने प्रकाश सुनारले न्यानो ट्रयाकसुट सहयोग गर्नुभएको छ ।
शैक्षिकसत्रभरि स्टेशनरी तथा कार्यालय सामग्रीको अभाव नहोस् भनेर महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आवश्यक सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
विद्यालय नजिकै बगिरहेको सनवोरा नदीले निरन्तर भूक्षय गरिरहेकाले विद्यालय संरचना जोखिममा परेको अध्यक्ष विकले बताउनुभयो । “तटबन्ध निर्माणका लागि सरोकार भएका नकायमा सहयोगका लागि अनुरोध गरिरहेका छौँ, तर अहिलेसम्म चासो देखिएको छैन”, उहाँले चिन्ता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार