श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पशु सेवा केन्द्रमा विज्ञ अभाव

सात जना प्राविधिकको दरबन्दी रहेको अस्पतालमा अधिकृत र एक प्राविधिक गरी दुई जना मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दशरथचन्द (बैतडी), २७ मङ्सिरः पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि चिकित्सकविहीन बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन । पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनुभयो ।

पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब तथा शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको जनाएको छ । “यसअघि करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मङ्सिरदेखि नै कार्यालयबाट गइसकेपछि हालसम्म पदपूर्ति हुन सकेको छैन”, केन्द्रका प्रमुख पन्तले भन्नुभयो, “जिल्लाबाट बाहिरिने खसी, बोका, भैँसी, राँगा निकासी पैठारीका लागि प्रमाणित गर्न सकिएको छैन, यसले चोरी निकासी गरी जिल्ला बाहिर पैठारीको जोखिम बढाएको छ ।”

पशु चिकित्सकसहित सात जना प्राविधिकको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक पशु विकास अधिकृत र एक प्राविधिक गरी दुई जना मात्रै रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया