कार्तिक २९, २०८३ आइतबार November 15, 2026

थारू बस्तीमा माघीको चहलपहल सुरू

थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली, ३० पुस : कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरू भएको छ । विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।

थारू गाउँमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरु भइसकेको उहाँले बताउनुभयो । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलन रहेको उहाँले बताउनुभयो ।

“माघेसङक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छाड्ने गरिन्छ । नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्यादिएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ”, उहाँले भन्नुभयो, “त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रहिआएको छ ।” तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उहाँले बताउनुभयो ।

गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीय माधव चौधरीका अनुसार थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू बस्तीमा पर्वको रौनक छाएको छ । थारू समुदाय बसोबास गर्ने गाउँबस्ती अहिले माघीमय भएका छन् । यतिमात्र नभएर थारू जातिको परम्परा, लोकसंस्कृति झल्कने मघौटा नाच, लोकगीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ ।

यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । “माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ”, चौधरीले भन्नुभयो, “यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ ।”

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् ।

पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ । बालबालिकादेखि वृद्घवृद्घासम्म रमाउने मुख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताउनुहुन्छ । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छाँै, खानपिन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।”

माघी मनाउन थारू समदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार