काठमाण्डौं । सुनसरीको पवित्र तीर्थस्थल बराहक्षेत्रमा इतिहासमै पहिलो पटक सय करोड दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराले धार्मिक तथा सामाजिक अभियान्ता हरि महतसँगको सहकार्यमा उक्त ऐतिहासिक कार्यक्रम आयोजना गरिएको हो ।
‘नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान–२०८२’ नाम दिइएको उक्त अभियान माघ १९ गतेदेखि २५ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ सहित बराहक्षेत्र धाममा सम्पन्न भएको हो । सप्ताहव्यापी महायज्ञ पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दुबाट वाचन गरिएको थियो, जसमा देश–विदेशबाट हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, सय करोड दीप प्रज्वलनको मूल उद्देश्य नेपाल राष्ट्रको शान्ति, समृद्धि, सामाजिक सद्भाव तथा विश्व शान्तिको कामना गर्नु रहेको छ । दीप प्रज्वलनलाई वैदिक परम्परामा अन्धकारमाथि प्रकाशको विजय, नकारात्मक शक्तिमाथि सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ ।
कार्यक्रम संयोजक एवं धार्मिक अभियान्ता हरि महतले यस अभियान केवल धार्मिक कर्मकाण्डमा सीमित नभई राष्ट्रप्रेम, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश बोकेको अभियान भएको बताए । उनले भने, “नेपालको पहिचान सनातन संस्कृति हो । यस अभियानले हाम्रो धर्म, संस्कार र सभ्यतालाई विश्वसामु उजागर गरेको छ ।”
यसअघि २०८० चैत २४ गते पशुपतिनाथ मन्दिर र २०८१ चैत २८ गते मुक्तिनाथ मन्दिरमा सवा करोड दीप प्रज्वलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बराहक्षेत्रमा सम्पन्न कार्यक्रम भने आकार, उद्देश्य र प्रभावका दृष्टिले तेस्रोपटक भएपनि सबैभन्दा महत्वाकांक्षी र हालसम्मकै ठुलो रहेको आयोजक क्लब लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराका अध्यक्ष अनुप मास्केले बताए ।
अध्यक्ष मास्केका अनुसार, बिशुद्ध धार्मिक अभियान भएकोले बराहक्षेत्रको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वलाई ध्यानमा राख्दै तेस्रोपटक उक्त कार्यक्रम आयोजना गरिएको हो । बराहक्षेत्रलाई भगवान् विष्णुको बराह अवतारसँग जोडिएको अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ ।
महायज्ञ अवधिभर साधु–सन्त, धर्मगुरु, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । स्वयंसेवकहरूको सक्रियतामा कार्यक्रम शान्त, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ ।
कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र बराहक्षेत्रको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुगेको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।आयोजक संस्थाले आगामी दिनमा पनि देशका विभिन्न धार्मिक स्थलहरूमा नेपाल आमा स्वस्ती शान्ति पूजा अभियानलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ । यस अभियानमार्फत धार्मिक चेतना फैलाउँदै सामाजिक सेवाका कार्यहरूलाई समेत जोड्दै लैजाने लक्ष्य राखिएको छ ।
हेरिटेज धरहराको धार्मिक यात्राः एक दशकको उपलब्धि
लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराको स्थापना २०७३ साल साउन १८ गते (मंगलबार) भएको हो । स्थापनाको झण्डै एक दशकको अवधिमा क्लबले थुप्रै सम्झनलायक सामाजिक तथा धार्मिक कार्यक्रमहरू सम्पन्न गरिसकेको छ ।
स्थापनाको प्रारम्भिक तीन वर्षसम्म अन्य सामाजिक कार्यक्रममार्फत जनसमुदायमा परिचित बनेको क्लबले पछिल्ला वर्षहरूमा सनातन हिन्दू धर्म संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राखेर विभिन्न धार्मिक अनुष्ठानहरू गर्दै आएको छ ।
विशेषतः लायन वर्ष २०२३–२४ मा अध्यक्ष मछिन्द्रराज आचार्यको नेतृत्वमा ‘नेपाल आमा स्वस्ती शान्ति पूजा अभियान’ शुरु भएपछि क्लबले धार्मिक क्षेत्रमा नयाँ उचाइ हासिल गरेको देखिन्छ । सो अभियान अन्तर्गत पहिलो पटक आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरमा सवा करोड दीप प्रज्वलन तत्कालीन लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी प्रथम भाइस गभर्नर नीरा बज्राचार्यको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
त्यसपछि मुक्तिनाथ र हाल सुनसरीको बराहक्षेत्र धाममा सम्पन्न सय करोड (एक अरब) दीप प्रज्वलनले क्लबलाई विश्वकै दुर्लभ र चुनौतीपूर्ण धार्मिक अभियान सम्पन्न गर्ने संस्थाको रूपमा स्थापित गराएको आयोजकको दाबी छ । नेपालको पूर्वदेखी पश्चिमका १०० भन्दा बढी दुर्घटनाग्रस्त स्थानमा नरिवल वली सहित पुजा गर्दै आएको क्लबले थुप्रै अनुष्टानहरु गर्दै आएको छ ।
अभियानलाई निरन्तरता दिने प्रतिबद्धता
आयोजक संस्था लायन्स क्लब अफ काठमाण्डौ हेरिटेज धरहराले आगामी दिनमा पनि देशका विभिन्न पवित्र धार्मिक स्थलहरूमा नेपाल आमा स्वस्ती शान्ति पूजा अभियानलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएको छ । यस अभियानमार्फत धार्मिक चेतनासँगै सामाजिक सेवा, राष्ट्रिय एकता र सांस्कृतिक संरक्षणलाई जोड्दै लैजाने लक्ष्य राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया