काठमाडौँ, २३ चैतः अनाथ र असहाय बालबालिकाको आवास निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजनामा यही चैत २७ देखि आगामी वैशाख ३ गतेसम्म टोखा नगरपालिका–६ स्थित एसिया प्यासिफिक विद्यालय प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
विगत १७ वर्षदेखि अनाथ र असहाय बालबालिकाको संरक्षण र संवर्धन गर्दै आएको उक्त संस्थाले अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको महायज्ञ मूल समारोह समितिका संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो ।
उक्त महायज्ञमा विश्वप्रसिद्ध भागवत वाचिका राधिका दासीले भागवत कथा पाठ गर्ने कार्यक्रम रहेको छ । चैत २७ गते कलश यात्रा र मण्डप पूजा, चैत २८ गते झाँकी लिला, चैत २९, ३० र आगामी वैशाख १ गते प्रवचन, वैशाख २ गते लाखबत्ती प्रज्वलन र वैशाख ३ गते पूजापाठसँगै पाठपारायण गरी समापन हुनेछ ।
महायज्ञका अवसरमा बृहद् रक्तदान तथा बिहान ५ देखि ६ः३० बजेसम्म योग, ध्यानको कार्यक्रम रहेको संयोजक घिमिरेले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया