बैसाख १९, २०८३ शनिबार May 2, 2026

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

धुञ्चे गुम्बामा एकैपटक करिब ५०० भन्दा बढी भक्तजन बसेर ध्यान गर्न सक्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा, वैशाख १९ गते । जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक क्रियाकलाप सञ्चालनमा नयाँ ऊर्जा थप्नुका साथै पर्यटन प्रवर्द्धनमा देवा पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार यसअघि परम्परागत रूपमा फ्ल्याकबाट निर्माण भएका छाना प्रविधि स्लेट, ढुङ्गादेखि जस्तापाता हुँदै अहिले आधुनिक ढलानमार्फत ती संरचना बनाइएको हो । अहिले निर्मित गुम्बा दिगो र सुरक्षित बनेका बताउँदै उहाँले योसँगै नियमित पूजाआजासहित धार्मिक गतिविधि सञ्चालन गर्न सहज वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो ।

गोसाइँकुण्ड गाउँपालिका-३ अन्तर्गत बृद्विम, लिङ्लिङ र आमाछोदिङ्मो गाउँपालिका(५ ब्रेमदाङमा एकरएक तथा गोसाइँकुण्ड गाउँपालिका-६ सदरमुकाम धुञ्चेमा गरी चार वटा गुम्बा निर्माण गरिएको नागरिक समाजका अध्यक्ष तामाङले जानकारी दिनुभयो । निर्माणमा संलग्न प्राविधिकका अनुसार ग्रामीण भेगका तीनवटै गुम्बा शतप्रतिशत सम्पन्न भइसकेका छन् भने धुञ्चेस्थित टुल्कुछेलिङ गुम्बा निर्माण करिब ९० प्रतिशत पूरा भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत सुरु गरिएको पुनःनिर्माणमा हालसम्म करिब रु ३३ करोड खर्च भएको निर्माण कम्पनीका कार्यस्थल प्रमुख एवं प्राविधिक इञ्जिनियर बुद्धवीर लामाले जानकारी दिनुभयो । नवनिर्मित गुम्बामा नियमित पूजाआजा, बौद्ध दर्शनसम्बन्धी प्रवचन, ध्यान साधना, विवाह (ब्रतबन्ध), छेवर, दिवङ्गत आफन्तको स्मृतिमा जलअर्पण तथा काजक्रियालगायत धार्मिक कार्य सञ्चालन गर्न सकिने स्थानीय भक्तजनले बताएका छन् ।

धुञ्चे गुम्बामा एकैपटक करिब ५०० भन्दा बढी भक्तजन बसेर ध्यान गर्न सक्ने व्यवस्था गरिएको प्राविधिक इञ्जिनियर लामाले उल्लेख गर्नुभयो । यसैबीच गुम्बा निर्माण गुणस्तरीय भएको भन्दै स्थानीय लामा गुरुहरूले प्रशंसा गरेका छन् ।

बौद्ध धर्मग्रन्थमा उल्लेख गरिए अनुसार ‘चित्तको शुद्धिकरण नै मुक्ति प्राप्तिको मार्ग हो’ भन्ने शिक्षालाई व्यवहारमा उतार्ने साधनास्थलका रूपमा गुम्बा स्थापित हुँदै गएका धार्मिक अगुवाहरूको भनाइ छ । बुद्धका उपदेशअनुसार करुणा, मैत्री र सहअस्तित्वको अभ्यास गर्ने स्थानका रूपमा यी गुम्बाले समुदायलाई जोड्ने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया