बैसाख २४, २०८३ बिहिबार May 7, 2026

व्यवसायी दीपक भट्टका साझेदारहरू अझै फरार

भट्टका अर्का साझेदार एवं क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर पनि प्रहरीको सम्पर्कभन्दा बाहिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारहरू फरार भएका छन्। भट्टका साझेदार  सुलभ अग्रवाल पक्राउ परिसकेका छन्। फरार अन्य साझेदारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। अघोषित रूपमा भट्ट र अग्रवालका व्यावसायिक साझेदार रहेका उपेन्द्र हिरावत भने नेपालमै नभएको प्रहरी स्रोतले जनाएको छ।

कुनै बेला सरकारलाई सबैभन्दा बढी राजस्व तिरेर सम्मानित भएका मदिरा उद्यमी राजबहादुर शाह पनि भट्टका व्यावसायिक साझेदार हुन्। उनी पनि अहिले कहाँ छन् भन्ने अत्तोपत्तो छैन। त्यसैगरी अर्का साझेदार रोहित गुप्ता पनि कहाँ छने भनेर प्रहरीले बताउन सकेको छैन। उनी पनि नेपालबाहिर गएको आशंका छ। त्यसैगरी भट्टका अर्का साझेदार एवं क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर पनि प्रहरीको सम्पर्कभन्दा बाहिर छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएपछि मोर क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालक समिति सदस्य एवं अध्यक्ष दुवै पदबाट राजीनामा दिएर सम्पर्कविहिन भएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो विषयमा अनुसन्धान गरिरहेको छ। सिआइबीका प्रवक्ता एसएसपी शिवबहादुर श्रेष्ठले अनुसन्धान भइरहेको विषयमा केही बताउन नमिल्ने जानकारी दिए। ‘अपराधको प्रमाण र कानुनअनुसार प्रहरीबाट अनुसन्धान हुन्छ,’ उनले भने।

व्यवसायी भट्टले पब्लिक लिमिटेड कम्पनी हिमालयन रि–इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड रुपैयाँ, हिमालयन इन्भेस्टमेन्ट बैंकबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फन्डबाट २५ करोड र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ आफ्नो नाममा सेयर किन्न प्रयोग गर्दा २३ करोड रुपैयाँ मोरले पनि लिएको अनुसन्धानका क्रममा खुलेको छ। भट्टले जनताको पैसाबाट नेपाल रि–इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए। भट्टले पब्लिक कम्पनीबाट निकालेको पैसा भृकुटी ब्रोकर हुँदै मोरसम्म पुगेको देखिएपछि विभागले उनीसँग पनि बयान लिएको थियो। बयान दिइसकेपछि उनी सम्पर्कविहीन भएका हुन्।

यसैगरी सुलभ अग्रवालको हिमालयन रि–इन्स्योरेन्स लगायत आठ वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा कसले कुन तरिकाबाट संस्थापक सेयर किनेका छन् भनेर पनि खोजी गर्न थालिएको छ। बिमासम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठलाई सिआइबीले पक्राउ गरिसकेको छ। ४६ वर्षीय श्रेष्ठलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको सिआइबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल बिमा प्राधिकरण कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्र तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा कम्पनी समेतको संलग्नतामा बिमा ऐन २०७९ को दफा १४०(१०) (छ) अनुसार कसुर गरेको उल्लेख गरेको छ।

यसैगरी सुलभ अग्रवालकी पत्नी शुभी अग्रवाल पनि छानबिनको दायरामा रहेको र उनीसँग प्रहरीले बयान लिइरहेको स्रोतको दाबी छ । व्यवसायी भट्टले गरेको व्यावसायिक कारोबारसम्बन्धी अनुसन्धान प्रतिवेदनका आधारमा शुभीले गरेको धितोपत्रको कारोबारसम्बन्धी विवरणअनुसार प्रहरीले अनुसन्धानका लागि बयान लिइरहेको हो। शुभीको २०८१ असोज २२ देखि हालसम्मको धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमा रहेको कारोबार खाताको विश्लेषण गर्दा उनले सो अविधमा धितोपत्र खरिदबापत कुनै पनि रकम जम्मा गरेको देखिन्न। उनलाई अग्रिम रकम नराखे पनि कारोबार गर्न सीमा प्रदान गरिएको तथा उनले धितोपत्र खरिदबापतको रकम जम्मा नगरे पनि उनको खातामा धितोपत्र जम्मा गरिदिएको देखिएकाले उनी अनुसन्धानमा तानिएकी हुन्।

सो अवधिमा निजले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई तिर्न बाँकी रकम २०८२ असार १६ मा एक अर्ब ३६ करोड नौ लाख ३२ हजार ३४९ रुपैयाँसम्म पुगेको देखिए पनि २०८२ माघ २३ देखि ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ मात्र तिर्न बाँकी देखिएको थियो। उनले उक्त अवधिमा सूचीकृत संगठित संस्था नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर खरिद–बिक्री गरेको देखिएको छ।

यसैगरी शेखर गोल्छालाई भने अदालतले पुनः हिरासतमा राख्न अनुमति दिएको छैन। एक पटक पक्राउ परेर अदालतको आदेशबाट रिहा भएका गोल्छालाई प्रहरीले पुनः पक्राउ गरेको थियो तर बुधबार काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ।

यसैगरी भट्ट संलग्न रहेका कम्पनीहरूका लागि सेयर किन्नेहरूको विवरण बुझाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सूचना जारी गरिसकेको छ। विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि-इन्स्योरेन्समा संस्थापक सेयर खरिद गर्नेहरूको विवरण मागेको हो। कतिपयले सेयर खरिद गरेको विवरण सार्वजनिक भइसकेको छ तर उनीहरूले प्रतिकित्ता एक सय रुपैयाँको अंकित मूल्यमै संस्थापक सेयर किने/नकिनेको खुलेको छैन। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया