काठमाडौं । संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (वैशाख ३१) सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन् । उनलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शपथग्रहण गराए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए । संखुवासभाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिवबाट सेवानिवृत्त कर्मचारी हुन् ।
सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया