जेठ १४, २०८३ बिहिबार May 28, 2026

च्याङथापूका २६ घर उच्च जोखिममा

बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर, १४ जेठ : जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिनुभयो ।

पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो । अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ । “कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो”, उहाँले भन्नुभयो, “पानी प¥यो कि सबैजना त्राहिमान हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ । यहाँ बाढीपहिरोले मानवीय क्षति नभएपछि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।”

च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो । त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठूलो वर्षा भएको र बाढीपहिरो गएको थियो । वडाध्यक्ष खालिङले भन्नुभयोे,“तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ । हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।”

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउनुहुन्छ । “बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ । यहाँ जताततै पहिरो गएको छ । बाढीले खोलाकिनारका सबै संरचना बगाएको छ”, उहाँले भन्नुभयो ।

बाढीपहिरोले यहाँका आठवटा सिँचाइ योजना, तीनवटा खानेपानी योजना ध्वस्त भएका र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको गुरुङले बताउनुभयो । बाढीपहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ र च्याङथापू–लामपोखरी मोटरबाटोमा धेरै क्षति पुगेको छ । च्याङथापू–लामपोखरी मोटरबाटो अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी)मा सामग्री ढुवानी गर्न नसकिने अवस्था आएको छ ।

बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने गर्भवतीको नियमित परीक्षण प्रभावित भएको छ । तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि यहाँका सरोकार भएकाहरूले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले वडा नं १, २ र ३ मा अत्यधिक क्षति पु¥याएको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति पुगेको छ । वडा कार्यालयहरूले अझै क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढीपहिरोपछि यस गाउँपालिकाका सबै वडालाई जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध छ । अवरुद्ध राजमार्गलाई ओयामबाट खुलाउन सुरुआत गरिएको छ । “बाटो सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी काम भइरहेको छ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो ।

सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न नसकिएको र राहत वितरण पनि हुन नसकेको उहाँले बताउनुभयो । “हामी ओयामदेखि माथि जाने अवस्था छैन । हाल त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलनलगायत काम गर्न भनेका छौँ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी
२०८३ जेठ १४, बिहिबार
महाकाली नदीमा सेनाको विपद् अभ्यास
२०८३ जेठ १४, बिहिबार
कांग्रेसको राष्ट्रिय दायित्व : विपुल पाेख्रेल
२०८३ जेठ १४, बिहिबार
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
२०८३ जेठ १४, बिहिबार
सुन चाँदीको मूल्यमा भारी गिरावट
२०८३ जेठ १४, बिहिबार
समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म हो : रास्वपा सचेतक, प्रकाशचन्द्र परियार (अन्तवार्ता)
२०८३ जेठ १४, बिहिबार
विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल
२०८३ जेठ १४, बिहिबार