जेठ १८, २०८३ सोमबार June 1, 2026

पिएसजीको जितपछि फ्रान्स अशान्त, ५७ प्रहरीसहित २१९ घाइते

च्याम्पियन्स लिग जितको खुसीमा फ्रान्सभर हुलदंगा, ४८० पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगको उपाधि जितेपछि फ्रान्सका विभिन्न सहरमा भएको उत्सव हिंसात्मक बन्दै जाँदा एक जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उपाधि जितेको खुसीमा सडकमा उत्रिएका समर्थकहरूबीच विभिन्न स्थानमा हुलदंगा, तोडफोड तथा आगजनीका घटना भएका हुन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा फ्रान्सेली प्रहरीले ४८० जनालाई पक्राउ गरेको जनाएको छ। हिंसात्मक प्रदर्शनका क्रममा सडकमा गुडिरहेका मोटरसाइकल तथा अन्य सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो। कतिपय स्थानमा समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको बताइएको छ।

हुलदंगाका क्रममा ५७ जना प्रहरीसमेत घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीले अश्रुग्यास, पानीको फोहोरा तथा अन्य नियन्त्रणात्मक उपाय अपनाएर अवस्था सामान्य बनाउने प्रयास गरेको थियो।

खेलतर्फ, पिएसजीले रोमाञ्चक प्रतिस्पर्धामा विपक्षी टोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि आफ्नो नाममा लेखाएको थियो। उपाधि जितेपछि समर्थकहरूले देशभर विजय उत्सव मनाएका थिए, तर केही स्थानमा त्यो उत्सव हिंसामा परिणत भएको हो।

गत वर्ष पनि पिएसजीले उपाधि जितेपछि फ्रान्सका विभिन्न सहरमा यस्तै प्रकारका हिंसात्मक घटना भएका थिए। लगातार दोस्रो वर्ष उपाधि उत्सव हिंसामा परिणत भएपछि सार्वजनिक सुरक्षा व्यवस्थापन र भीड नियन्त्रणबारे नयाँ बहस सुरु भएको छ।

फ्रान्सेली प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ भने हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाइने बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया