जेठ २३, २०८३ शनिबार June 6, 2026

टी-२० महिला राष्ट्रिय क्रिकेटः लुम्बिनी, सुदूर र गण्डकीको विजयी सुरुआत

ण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जित निकाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँक्रेविहार (सुर्खेत), २२ जेठः उन्नाइस वर्षमुनिको टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् । आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताअन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुआत गरेको हो ।

वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगितामा विजयी सुरुआत गरेको हो । टस जितेर ब्याटिङको लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

लुम्बिनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिइन् । कर्णालीका लागि सुप्रिया बुढाले तीन विकेट हात पार्दा आशना चौधरी र आयुषा बरालले समान दुई-दुई विकेट लिएका हुन् ।

सुदूरपश्चिमले सावित्री धामीको आक्रामकमा ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमा जित निकाल्यो । सुदूरलाई बलियो सुरुआत दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ती भण्डारीको २० रन जोडिन् । यो सुदूरको जितका लागि महत्त्वपूर्ण आधार बन्यो ।

एक सय ५१ रनको लक्ष्य पछ्याएको कोशी सुदूरपश्चिमका बलरसामु निरीह बने । कोशीका कुनै पनि ब्याटरले दोहारो अङ्कमा रन जोड्न सकेनन् । सुदूरका लागि अञ्जु पार्कीले चार विकेट लिँदा आशिकाकुमारी महरा र मनिषा चौधरीले दुई-दुई विकेट लिए ।

प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जित निकाल्यो । टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नटआउट ३२ रनको योगदान दिँदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साउद र सम्भाव्या ढकालले समान १२-१२ रन जोडिन् ।

गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जिटी, रञ्जना साउदले समान दुई–दुई विकेट लिएका छन् । ९६ रन पछ्याउन क्रिज उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफल जितका लागि पर्याप्त भयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया