काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबार चार जनाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई, सुनसरीमा र नवलपरासीमा एक–एक जनाको मृत्यु भएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष रहेका छन् । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा मधुमेहको पनि समस्या थियो ।
त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत धरान–३ का ६४ वर्षीय पुरुषको पनि मंगलबार विहान मृत्यु भएको छ । उनी गत असोज १२ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
उता चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको पनि मंगलबार विहान मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५५८ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया