कैलाली । घोडाघोडी सञ्चारकर्मी समूहको प्रथम अधिवेशनले खेम ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
गत मंसिरमा स्थापना भएको समूहको तदर्थ समितिको नेतृत्वसमेत सम्हाल्दै आएका ढुङ्गाना अधिवेशनमार्फत निर्वाचित पहिलो कार्यसमितिको अध्यक्ष बनेका हुन्। २०६८ सालदेखि रेडियो कैलालीबाट पत्रकारिता सुरु गरेका ढुङ्गाना ‘निर्भीक पोष्ट’का प्रकाशकसमेत हुन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा ज्योति बोहरा, कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत चयन भएका छन्।
सुखडस्थित सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव इन्द्रा कुमारी केसी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा तथा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनकराज पाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
यस्तै, घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यूरे, संस्थागत विद्यालय घोडाघोडी क्लस्टरका अध्यक्ष रविलाल आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष भवानी ढकाल, घोडाघोडी जेसिजका अध्यक्ष धनबहादुर बडुवाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रमार्फत नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिकी संयोजक चाँदनी आचार्यले जानकारी दिइन्। उनका अनुसार अध्यक्ष ढुङ्गानासहितको सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहणपछि अध्यक्ष ढुङ्गानाले सञ्चारकर्मीहरूको साझा संस्थामार्फत पत्रकारहरूबीच एकता, पेशागत क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका साझा मुद्दामा सहकार्य गर्दै संस्थालाई सक्रिय र प्रभावकारी रूपमा अघि बढाइने बताए। उनले पत्रकारहरूको हित, पेशागत सुरक्षा र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर संस्थाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया