असार १, २०८३ सोमबार June 15, 2026

विश्वकपमा आइभरी कोस्टको शानदार सुरुआत, इक्वेडर १–० ले पराजित

जितसँगै आइभरी कोस्टले तीन अंक जोड्दै समूह ‘ई’ मा शीर्ष स्थानमा रहेको जर्मनीसँग अंक बराबरीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को रोमाञ्चक खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खेलभर गोलका थुप्रै अवसर सिर्जना भए पनि निर्धारित समयको अन्तिम क्षणसम्म दुवै टोली गोलरहित बराबरीमा थिए। तर, ९०औँ मिनेटमा अमाद डियालोले निर्णायक गोल गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण तीन अंक दिलाए।

अमेरिकामा सम्पन्न खेलमा इक्वेडरले सुरुआती समयदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। विशेषगरी पहिलो हाफमा उसले दुई पटक बल क्रसबारमा प्रहार गर्दै गोलको नजिक पुगे पनि भाग्यले साथ दिएन। लगातार अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा इक्वेडरले अग्रता लिन सकेन। दोस्रो हाफमा पनि उसले दबाब कायम राखे तापनि आइभरी कोस्टको रक्षापंक्ति मजबुत बनेर उभियो।

खेल गोलरहित बराबरीतर्फ उन्मुख भइरहेको बेला अमाद डियालोले अन्तिम मिनेटमा गरेको उत्कृष्ट गोलले खेलको नतिजा बदलिदियो। जितसँगै आइभरी कोस्टले तीन अंक जोड्दै समूह ‘ई’ मा शीर्ष स्थानमा रहेको जर्मनीसँग अंक बराबरी गरेको छ। यसअघि जर्मनीले आफ्नो पहिलो खेलमा कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको थियो। अब समूहको आगामी खेलहरूले नकआउट चरणको समीकरण झन् रोचक बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया