मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप : स्विट्जरल्यान्डको दमदार प्रदर्शन, बोस्निया ४–१ ले पराजित

बोस्नियालाई स्तब्ध पार्दै स्विट्जरल्यान्डले समूह ‘बी’ मा कब्जा जमायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे। यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे।

खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको दिशा नै परिवर्तन भएको थियो।

ब्रिल एम्बोलोलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्न पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिएका थिए।

त्यसअघि लामो समयसम्म बोस्नियाको रक्षात्मक रणनीतिले स्विट्जरल्यान्डलाई रोकिरहेको थियो। तर प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा मान्जाम्बीलाई मैदान छिराएपछि खेलको गति फेरियो।

मान्जाम्बीले मैदान प्रवेश गरेको केही समयमै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। बायाँ विंगबाट भार्गासले दिएको क्रस क्लियर गर्ने प्रयास असफल भएपछि पेनाल्टी क्षेत्रभित्र आएको बलमा मान्जाम्बीले शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए।

मुहारेमोभिचको बहिर्गमनपछि स्विट्जरल्यान्डले थप दबाब सिर्जना गर्‍यो। ८४औँ मिनेटमा एम्बोलोले बल नियन्त्रण गर्दै भार्गासतर्फ पास दिएपछि उनले तल्लो कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए।

९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को सहज स्थितिमा पुर्‍याए।

इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले शानदार भलीमार्फत एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे।

यो नतिजापछि एक जित र एक बराबरीसहित स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ।

पहिलो खेलमा कतारसँग १–१ को अप्रत्याशित बराबरी खेले पनि स्विस टोली लगातार चौथो विश्वकपमा नकआउट चरण पुग्ने लक्ष्यतर्फ बलियो देखिएको छ।

उता एक अंकमा सीमित बोस्नियाको नकआउट चरण सम्भावना जोगाउन अन्तिम समूह खेलमा कतारविरुद्ध जित अपरिहार्य बनेको छ।

प्रतियोगितामा बोस्नियाले हालसम्म खाएका पाँचै गोल ७०औँ मिनेटपछि आएका छन्, जसले टोलीको अन्तिम समयमा कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार