काठमाडौं । पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको फिफा विश्वकप २०२६ यात्रा समूह चरणमै समाप्त भएको छ। समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा पराजय भोगेसँगै टर्की लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको सुरुआतमै पाराग्वेले अग्रता बनाएको थियो। पाराग्वेका माटिस गालाराजाले खेल सुरु भएको मात्र ६७ सेकेन्डमै गोल गर्दै टोलीलाई महत्वपूर्ण अग्रता दिलाएका थिए। उनको यो गोल हालसम्म विश्वकप २०२६ मा भएको सबैभन्दा छिटो गोलका रूपमा दर्ज भएको छ।
गालाराजाको सुरुआती गोलपछि टर्कीले खेलमा फर्कने प्रयास गरे पनि पाराग्वेको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। निर्धारित ९० मिनेटभर दबाब सिर्जना गरे पनि टर्कीले बराबरी गोल गर्न नसक्दा पराजय टार्न सकेन।
यसअघि समूह चरणको पहिलो खेलमा टर्की अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो। लगातार दुई खेलमा हार बेहोरेपछि टर्कीको नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको छ।
यता पाराग्वेले भने विश्वकप २०२६ मा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा आयोजक अमेरिकासँग ४–१ ले पराजित भएको पाराग्वेले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
यो जितसँगै पाराग्वेले समूह ‘डी’ बाट अघिल्लो चरण प्रवेशको सम्भावना कायम राखेको छ भने टर्की विश्वकपबाट बाहिरिने पहिलो टोलीहरूमध्ये एक बनेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया