असार ७, २०८३ आइतबार June 21, 2026

रोनाल्डिन्होको पुनरागमनले विश्व फुटबलमा तरंग, राभेन्ना चर्चाको केन्द्रमा

रोनाल्डिन्होको व्यावसायिक फुटबलमा आश्चर्यजनक पुनरागमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्व फुटबलका सर्वकालीन महान् तथा जादुमयी खेलाडी रोनाल्डिन्हो गाउचोले ४६ वर्षको उमेरमा मैदानमा फर्किने संकेत गर्दै व्यावसायिक फुटबलमा आश्चर्यजनक पुनरागमन गरेका छन् ।

ब्राजिलका यी विश्वकप विजेता तथा पूर्व ब्यालोन डी’ओर विजेताले इटालीको तेस्रो श्रेणी (सिरी सी) को क्लब राभेन्ना एफसी सँग औपचारिक सम्झौता गरेका हुन् ।

सन् २०१५ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि आफ्नो अन्तिम व्यावसायिक खेल खेलेको करिब एक दशकभन्दा बढी समयपछि रोनाल्डिन्होको यो निर्णयले खेल जगत्‌लाई स्तब्ध र उत्साहित बनाएको छ।

इटाली सञ्चारमाध्यम ग्याजेटाका अनुसार उनलाई आगामी जुन २३ मा अमेरिकाको मियामीमा आयोजना हुने एक विशेष समारोहका बीच क्लबको नयाँ खेलाडीका रूपमा सार्वजनिक गरिने कार्यक्रम तय भएको छ।

क्लबसँगको आबद्धतापछि रोनाल्डिन्होले आफ्नो चिरपरिचित मुस्कानसहित प्रतिक्रिया दिँदै भने, “नयाँ रङ, उही मुस्कान। म फेरि एकपटक बलसँग नाच्न र राभेन्नामा फुटबलको वास्तविक खुसी छर्न आतुर छु।”

राभेन्ना क्लबका इटालियन-अमेरिकी मालिक इग्नाचियो सिप्रियानीसँगको व्यक्तिगत निकटताका कारण यो असम्भव देखिने सम्झौता सम्भव भएको बताइएको छ।

४६ वर्षको उमेरमा रोनाल्डिन्होको आगमन केवल व्यापारिक र बजार प्रवर्द्धन (मार्केटिङ) का लागि मात्र हो कि उनी साँच्चै मैदानमा उत्रिनेछन् भन्ने विषयमा सुरुमा केही द्विविधा देखिए पनि क्लबका उपाध्यक्ष तथा पूर्व एसी मिलानका खेल निर्देशक अरिएडो ब्राइडाले उनी मैदानमा उत्रिन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् ।

रोनाल्डिन्होको यो ऐतिहासिक पुनरागमनले इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नालाई एकाएक विश्व फुटबलको केन्द्रमा ल्याइदिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया