सुर्खेत । नेपाल एथलेटिक्स संघको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पहिलोपटक आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा चार राष्ट्रिय कीर्तिमानमाथि ‘ब्रेक’ लागेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समग्रमा च्याम्पियन बनेको छ ।
महिला त्रिपल जम्पमा नेपाल पुलिस क्लबकी सीमा चौधरीले १२.४९ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले नेपाल पुलिस क्लबकै केशरी चौधरीले बनाएको १२.२० मिटरको पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
त्यसैगरी महिला ४०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ५७.१९ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि एपीएफ क्लबकी रमिता थारुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५८.१० सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।
पुरुष लङजम्पतर्फ त्रिभुवन आर्मी क्लबका सलिम देवानले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् । उनले एक वर्षअघि भारतको ओडिसामा बनाएको ७.३२ मिटरको कीर्तिमान तोड्दै यस प्रतियोगितामा ७.५८ मिटर जम्प गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
महिला ४×४०० मिटर रिले दौडमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई, कृष्णा चौधरी, निल्सा खत्री र संजिता मेचीको टोलीले चार मिनेट २.५० सेकेन्डमा कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमानलाई यसपटक आर्मीकै जयरानी चौधरी, केलेशी चौधरी, सरस्वती थापा र उनीहरूको टोलीले चार मिनेट ००.०२ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान रचेका हुन् ।
२८ इभेन्ट समावेश प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १७ स्वर्ण, १२ रजत र सात कांस्य पदक जित्दै समग्रमा उपाधि आफ्नो नाममा पार्यो । नेपाल पुलिस क्लब आठ स्वर्ण, सात रजत र तीन कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो ।
वाग्मती प्रदेशले दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो । आयोजक कर्णाली प्रदेश एक स्वर्ण, एक रजत र एक कांस्य पदकसहित चौथो स्थानमा सीमित रह्यो ।
स्वर्ण पदक जित्न नसकेको एपीएफ क्लबले पाँच रजत र नौ कांस्य पदकसहित पाँचौँ स्थान हासिल गर्यो । लुम्बिनी प्रदेश एक रजत र चार कांस्यसहित छैटौँ, कोसी प्रदेश एक रजत र एक कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश एक रजतसहित आठौँ तथा गण्डकी प्रदेश दुई कांस्य पदकसहित नवौँ स्थानमा रहे ।
प्रतियोगितामा मधेस प्रदेश भने पदकविहीन बनेको छ । कुनै पनि पदक जित्न नसकेको मधेस प्रदेश ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताबाट खाली हात फर्किएको छ ।
तीन दिनसम्म चलेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी जम्मा ३२० खेलाडीले सहभागिता जनाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया