असार ११, २०८३ बिहिबार June 25, 2026

बागमती प्रदेश खेलकुद सम्पन्न : काठमाडौं पहिलो, ललितपुर दोस्रो

१३१ पदक जित्दै काठमाडौंले उचाल्यो बागमती प्रदेश खेलकुदको ट्रफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार ३ गतेदेखि जारी प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ललितपुरले पनि काठमाडौं बराबर कूल १३१ पदक जिते पनि स्वर्ण पदक कम हुँदा दोस्रो स्थानमा सीमित भयो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्य गरी कूल ८५ पदकसहित तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय हुने जिल्लाले क्रमश १ लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिन अर्थात मंगलबार फुटबलतर्फ पुरुष र महिलाको फाइनल खेल भएको थियो । पुरुषतर्फको उपाधि चितवनले जितेको छ भने महिलातर्फ काठमाडौं च्याम्पियन बनेको छ । मंगलबार बिहान हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको महिलातर्फको फाइनलमा काठमाडौंले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता काठमाडौंका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ र उपविजेता चितवनका खेलाडीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ काठमाडौंकी मनिषा आले मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले २० हजार रुपैयाँ प्राप्त गरिन् । काठमाडौंकै झरना नगरकोटी उत्कृष्ट गोलकिपर, सजिता कोइराला उत्कृष्ट डिफेन्डर र देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए । चितवनकी सुसिला केसी उत्कृष्ट मिडफिल्डर र प्रतिक्षा ठकुरी उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

यसैगरी मंगलबार हेटौंडाको गौरीटार रंगशालामा भएको पुरुषतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो । पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैया प्राप्त गरे ।

चितवनका मनोज गुरुङ उत्कृष्ट गोलकिपर, विकल तामाङ उत्कृष्ट डिफेन्डर, सलिल ढकाल उत्कृष्ट फरवार्ड र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । मकवानपुरका सुजन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए ।

काभ्रेपलाञ्चोक २२ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५८ पदकसहित चौथो स्थानमा रहृयो । भक्तपुरले १७ स्वर्ण, २२ रजत र ३६ कास्य गरी ७५ पदक, मकवानपुरले ११ स्वर्ण, १० रजत र ३२ कास्य गरी ५३ पदक, सिन्धुपाल्चोकले १० स्वर्ण, ११ रजत र १० कास्य गरी ३१ पदक, नुवाकोटले ९ स्वर्ण, १३ रजत र २० कास्य गरी ४२ पदक प्राप्त गरेको थियो ।

यसैगरी धादिङले ९ स्वर्ण, १० रजत र २१ कास्य गरी ४० पदक जितेका छन् । रामेछापले ८ स्वर्ण, ३ रजत र २१ कास्य, सिन्धुलीले २ स्वर्ण, ११ रजत र २२ कास्य, रसुवाले २ स्वर्ण, ७ रजत र ४ कास्य तथा दोलखाले १ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेका छन् ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता थियो । विभिन्न १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कूल ७४४ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १ हजार ५१५ पुरुष र १ हजार १९२ महिला गरी कूल २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका खेलहरु हेटौंडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका विजयी खेलाडी र जिल्लालाई बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायतले पुस्कार वितरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया