जनकपुरधाम, १२ असारः मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्ने भएका छन् ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफानलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा आज एपीएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भयो । त्यसपछि रनरेटको आधारमा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल आइतबार पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा हुनेछ ।
वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज सम्पन्न अर्को सेमिफाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्यो । टस जितेर बागमती प्रदेशले फिल्डिङ रोजेपछि ब्याटिङ्गको निम्तो पाएको कोशी प्रदेशले निर्धारित १० ओभरमा एक विकेट गुमाएर ७२ रनको योगफल बनायो । कोशीका लागि कप्तान रुवीना क्षेत्रीले ३१ रन, काजल श्रेष्ठले २९ तथा अपसरी बेगमले १० रनको योगदान दिइन् । बलिङतर्फ बागमतीका लागि कञ्चन श्रेष्ठले एक विकेट लिइन् ।
त्रिहत्तर रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको बागमती प्रदेशले १० ओभरमा ६ विकेट गुमाएर ६४ रन मात्र जोड्न सक्यो । बागमतीकी कप्तान अस्मिना कर्माचार्यले १७ रन, लक्ष्मीमाया रुम्बा लामाले १४ रन र विपिसा शाहीले १२ रन बनाइन् ।
बलिङतर्फ कोशीकी कप्तान रुबीना क्षेत्रीले दुई तथा अलिसा खाडिया, अपसरी बेगम र टीका साहले एक-एक विकेट लिइन् । आजको खेलको वुमन अफ दी म्याच कोशीकी कप्तान रुवीना क्षेत्री घोषित भइन् । मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफ क्लबको सहभागिता रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया