असार १४, २०८३ आइतबार June 28, 2026

ओसमान डेम्बेलेको विश्वकप ह्याट्रिक, फ्रान्स ४–१ ले विजयी

सेनेगलको पाँच गोलको वर्षा, फ्रान्ससँगै नकआउट सम्भावना बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बोस्टन (अमेरिका), असार १४ गते । फ्रान्सका ओसमान डेम्बेलेले शनिबार नर्वेविरुद्ध ह्याट्रिक गरेर गोल्डेन बुटको दौडमा सामेल हुनुभएको छ । डेम्बेलेको तीन गोलको सहयोगमा फ्रान्सले नर्वेलाई ४–१ ले हराएर समूह ‘आई’ विजेता बन्यो । डेम्बेलेले खेलको सातौँ, २० औँ र ३२ औँ मिनेटमा गोल गर्नुभयो ।

सन् २०२५ मा विश्वका सर्वश्रेष्ठ फुटबलरलाई प्रदान गरिने बालन डी ओर अवार्ड जित्ने डेम्बेलेले यस विश्वकपमा आफ्नो गोल सङ्ख्या चार पु¥याउनुभएको छ । उहाँलाई ६५ औँ मिनेटमा ब्राड्ली बार्कोलाले स्थानापन्न गर्नुभएको थियो । नर्वेका थेलो आसगार्डले गरेको गोल सान्त्वना मात्र बन्यो । डेम्बेलेको दोस्रो गोल गरेपछि १४ सेकेन्डमै आसगार्डले गोल फर्काउनुभएको हो ।

सन् १९९४ मा अमेरिकामै भएको विश्वकपपछि पूर्वार्धमै ह्याट्रिक भएको यो पहिलो विश्वकप हो । सो समय रुसका फरवार्ड ओलेग सालेन्कोले क्यामरुनविरुद्ध सुरुको ४५ मिनेटमै तीन गोल गर्नुभएको थियो । सो खेलमा सालेन्को एक्लैले पाँच गोल गर्नुभएको थियो । फ्रान्सका लागि चौथो गोल डिजाइरी डोवेले खेलको इन्जुरी समयमा गर्नुभयो । विश्वकपमा सबभन्दा तेज ह्याट्रिक भने

हङ्गेरीका स्ट्राइकर लाजस्लो किसको नाममा रहेको छ । उहाँले सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा एल साल्भाडोरविरुद्ध स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेपछि सात मिनेट ४२ सेकेन्ड समयको अन्तरालमै तीन गोल गर्नुभएको थियो । खेलको सुरुवातमा सबभन्दा चाँडो ह्याट्रिक गर्ने खेलाडीको नाम भने अस्ट्रियाका इरिच प्रोब्स्ट हुनुहुन्छ । सन् १९५४ मा प्रोब्स्टले चेकोस्लोभाकियाविरुद्ध खेल सुरु भएको २४ मिनेट नपुग्दै ह्याट्रिक पूरा गर्नुभएको थियो ।

सन् २०१८ मा विश्वकप जितेको फ्रान्स गत संस्करणमा भने अर्जेन्टिनासँग टाइब्रेकरमा हारेर उपविजेतामै सीमित भएको थियो । यसपालि पनि फ्रान्स उपाधिको प्रबल दाबेदार हो । समूह चरणमा फ्रान्सले १० गोल गरेर आफ्नो क्षमता देखाइसकेको छ । फ्रान्सविरुद्धको खेलअघि नै नकआउटमा पुगिसकेकाले नर्वेका प्रशिक्षक स्टेल सोल्बाकेनले इर्लिङ हालान्डसहित पहिलो रोजाइका १० खेलाडीलाई परिवर्तन गर्दा पनि फ्रान्सलाई खेल जित्न सहज बन्यो । नर्वेको यो निर्णयले हालान्ड र किलियन एमबाप्पेको प्रतिद्वन्द्विता हेर्ने पर्खाइमा रहेका करोडौँ समर्थन निराश बनेका थियो । एमबाप्पेले नर्वेविरुद्ध खेले पनि गोल भने गर्न सक्नुभएन । यसअघि उहाँले सेनेगल र इराकविरुद्ध दुई–दुई गोल गर्नुभएको थियो । एमबाप्पे १६ गोलससहित विश्वकपका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँगै दोस्रो स्थानमा रहनुभएको छ । सो खेलमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पको पनि अनुपस्थिति रहेको थियो । आफ्नी आमाको निधन भएपछि प्रशिक्षक डेसच्याम्प फ्रान्स फर्कनुभएको हो ।

समूह ‘आई’ मै सोही राति भएको अर्को खेलमा सेनेगलले १० खेलाडीमा सीमित इराकलाई ५-० ले हराएको छ । यस नतिजासँगै सेनेगलले समूहमा तेस्रो स्थान बनाएको छ । सेनेगलको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम भएको छ । इराक भने तिनै खेल हारेर घर फर्कने भएको छ ।

सेनेगल विश्वकपका एक खेलमा पाँच गोल गर्ने अफ्रिकाको पहिलो टिम बनेको छ । सेनेगलका लागि पापे गुएले दुई गोल गर्नुभयो । सेनेगलका लागि पहिलो गोल हाबिब डियाराले गर्नुभयो । खेलको १३ औँ मिनेटमा डिफेन्डर रेविन सुलाकाले रातो कार्ड पाएपछि एक गोलले पछाडि परेको इराक थप समस्यामा परेको थियो । यस विश्वकपमा रातो कार्ड पाउने सुलाका नवौँ खेलाडी हुनुहुन्छ । सेनेगलका लालग इस्माइला सार र इलिमान नाडिएले पनि गोल गर्नुभयो । एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया