असार १४, २०८३ आइतबार June 28, 2026

तिनाउको बाढीमा फसेका युवकको उद्धार

नदीमा नजान तथा आवश्यक परे अत्यन्त सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिद्धार्थनगर (भैरहवा), १५ असारः बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । पाल्पा र बुटवल क्षेत्रमा वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढेको थियो । सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फसेका थिए ।

प्रहरीले वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले दाउरा सङ्कलन, पौडी खेल्न वा अन्य प्रयोजनका लागि नदीमा नजान तथा आवश्यक परे अत्यन्त सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया