असोज ५, २०८३ सोमबार September 21, 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने

एकीकरणपछिको संगठन व्यवस्थापन, जिम्मेवारी बाँडफाँट तथा भावी रणनीतिका विषयमा पनि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। २५ घटकबीच पार्टी एकीकरण सम्पन्न भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

पार्टीका नेता रामकुमार भट्टराईका अनुसार बैठक सोमबार अपराह्न ४ः३० बजे भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ। बैठकमा पार्टीको नियमावली तथा कार्यविधि अनुमोदन, संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने विषयलगायत महत्वपूर्ण एजेण्डामाथि छलफल हुने जनाइएको छ।

पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकबीच भएको एकीकरणपछि नेकपाले आफ्नो संगठनात्मक संरचना सुदृढ गर्ने र साझा कार्यदिशा तय गर्ने तयारी गरिरहेको छ। सोही प्रक्रियाअन्तर्गत पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको नेताहरूले बताएका छन्।

बैठकले पार्टी सञ्चालनका लागि आवश्यक नियमावली, कार्यविधि र आगामी राजनीतिक कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै एकीकरणपछिको संगठन व्यवस्थापन, जिम्मेवारी बाँडफाँट तथा भावी रणनीतिका विषयमा पनि छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

२५ वटा कम्युनिस्ट घटकलाई समेटेर गठन गरिएको नेकपाले राष्ट्रिय राजनीतिमा वैकल्पिक कम्युनिस्ट शक्तिका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित संगठन विस्तार र राजनीतिक गतिविधि अघि बढाइरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया