काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक संगठनदेखि राष्ट्रिय राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल गर्न केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संगठनात्मक विषय, एकता राष्ट्रिय महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।
बैठकमा पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता विस्तार तथा मातहतका कमिटीका अधिवेशनको विषय प्रमुख रूपमा उठ्नेछ। यसअघि नेकपाले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गर्दै वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भोटेकोशी–त्रिशूलीमा आएको बाढी लगायतका कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका बनाउने तयारी गरिएको हो।
बैठकले महाधिवेशनको मिति र तयारीलाई ध्यानमा राख्दै तल्ला तहका अधिवेशनको संशोधित कार्यतालिका तय गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ। पार्टी प्रवक्ता ज्वालाका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधिलाई समेत ठोस बनाउने तयारी छ।
त्यस्तै, बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा संसद् र संसद्बाहिर पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
नेकपाको बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भएको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाको अवस्थाको पनि समीक्षा गरिनेछ। सरकारले सञ्चालन गरेका कामको समीक्षा गर्दै आगामी दिनमा पार्टीका तर्फबाट गर्न सकिने सहयोग र भूमिकाबारे पनि छलफल हुने प्रवक्ता ज्वालाले बताएका छन्।
बैठक ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिको हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया