मान्म (कालीकोट), १५ असारः कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।
जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौवटा गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । उहाँले भन्नुभयो, “यसमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले रहेको छ ।”
जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतले बताउनुभयो ।
“तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको थियो”, उहाँले भन्नुभयो, “त्यो काम पूर्णता पाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।”
दैलेख, सुर्खेतपछि कालीकोटले पूर्णखोप सुनिश्चितता जिल्लाको घोषणा भएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले बताउनुभयो ।
“खोपबाट कोही पनि कहिल्यै पनि नछुट्ने वातावरण बनाउन सबै सरोकारवालाको भूमिका छ”, उहाँले भन्नुभयो, “माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो । बालबालिकालाई जेठमा खोप दिएर वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्णखोपयुक्त घोषणाको तालिका रहेको छ ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया