काठमाडौं। सन् २०१० को विश्व विजेता स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ ३२ अन्तर्गत भर्खरै सम्पन्न खेलमा अष्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै स्पेनले प्रि–क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबल नायक बने। उनले दुई गोल गर्दा पेड्रो पोरोले एक गोल थपे। सुरुदेखि नै खेलमा पकड जमाएको स्पेनले बल नियन्त्रण र आक्रामक खेलमार्फत अष्ट्रियामाथि दबाब कायम राखेको थियो।
खेलको ३६औँ मिनेटमा ओयार्जाबलले उत्कृष्ट फिनिसिङमार्फत गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–० को अग्रतासहित टुंग्याएको स्पेनले दोस्रो हाफमा पनि आफ्नो दबाबलाई निरन्तरता दियो।
खेलको ६६औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको अग्रता २–० मा पुर्याए। त्यसपछि पनि स्पेनले आक्रमण जारी राख्यो भने अष्ट्रियाले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन।
निर्धारित समय सकिनै लाग्दा ८९औँ मिनेटमा ओयार्जाबलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको प्रभावशाली जित सुनिश्चित गरे।
यो जितसँगै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब उसले क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबीच हुने राउन्ड अफ ३२ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यता, अष्ट्रियाको भने राउन्ड अफ ३२ बाटै विश्वकप यात्रा समाप्त भएको छ। उत्कृष्ट लयमा रहेको स्पेनले उपाधि दाबेदारीलाई थप बलियो बनाउँदै नकआउट चरणमा आत्मविश्वासका साथ अगाडि बढेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया