असार २५, २०८३ बिहिबार July 9, 2026

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका आठ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २५ असारः कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका आठ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ ।

यस्तै, विगतमा खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि बिसिजी, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी, दादुरा–रुबेलालगायत आवश्यक खोप लगाइएको उहाँले बताउनुभयो ।

जन्मदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका, नौ हजार ४२७ गर्भवती तथा २४ देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अधिकृत कुवँरले बताउनुभयो ।

कार्यक्रममा खोप अभियानमा योगदान पु¥याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया