मान्म (कालीकोट), २५ असारः हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।
विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/ ८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन् ।
जिल्लाका नौ पालिकामध्ये छ पालिकामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताउनुभयो । “जिल्लाका नौ पालिकामध्ये खाँडाचक्र नगरपालिका डेङ्गीका आठ, पलाँता गाउँपालिका एक , नरहरिनाथ गाउँपालिका एक जना बिरामी भेटिएका छन् ।
त्यस्तै, कालाजारका खाँडचक्र नगरपालिका दुई, पचालझरना गाउँपालिका दुई , रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एक÷एक जना, बिरामी भेटिएका छन्”, उहाँले भन्नुभयो, “औलो रोगका बिरामी खाँडाचक्र–२ मा एक जनामा भेटिएको थियो । यो भने आयतित बिरामी थिए ।”
जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम भएका र जिल्लाबाट धेरै मानिसहरु तराईका जिल्लाबाट आउन–जाने भएकाले पनि पछिल्लो चरणमा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले बताउनुभयो । “सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँ बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बन्छ । त्यो कारणले पनि जिल्लामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्”, उहाँले भन्नुभयो, “ विशेष गरेर जिल्लाका तल्लो भेग कर्णाली नदी र तिला नदी किनार आसपासका क्षेत्रमा लामखुट्टेबाट सर्ने रोगका बिरामी भेटिएका छन् ।”
जिल्लामा डेङ्गी, औलो र कालाजारका सङ्क्रमणका बिरामी भेटिन थालेपछि महामारीको रुपमा फैलिन नदिनका लागि स्वास्थ्य संस्थाहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताउनुभयो । “लामखुट्टेको जोखिम देखिएका जिल्लाका विभिन्न ठाउँमा स्थानीय स्वास्थ्य संस्थाहरुको सहयोगमा लार्भा खोज्ने र नष्ट गर्ने तथा सचेतनाको अभियान सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “विशेष गरेर डेङ्गी, औलो र कालाजार बिरामी भेटिएका क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरु सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग विषयमा जानकारी गराएका छौँ ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया