काठमाडौँ, २६ असारः सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उहाँका उपचारमा संलग्न चिकित्सकहरूले सुरुआतमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो ।
यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं अहोरात्र खटिनुभएको थियो । साथै सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णय समेत गरिएको थियो ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिनुभएको छ ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गएरातिदेखि निरन्तर खटिरहनुभएको छ ।
बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया