काठमाडौँ, ३० असारः पौडी च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
जुलाई १७ देखि २५ तारिखसम्म हुने एसियाली उमेर समूहको प्रतियोगितामा ६ पुरुष र १० महिला खेलाडी सहभागी छन् । पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ छन् ।
महिलातर्फ आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिश्था शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । नेपाली खेलाडीले विभिन्न १०८ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल पौडी सङ्घका सचिव गङ्गालाल गोलेले जानकारी दिनुभयो । टोली प्रमुखमा राजु महर्जन, प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी र प्रशिक्षकमा सुमन महर्जन रहेका छन् ।
टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज सिंहदरबारमा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो । रासस
प्रतिक्रिया