श्रावण ५, २०८३ मंगलबार July 21, 2026

आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित

नेपालले यो शृंखलाको दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ । नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा मंगलबार भएको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेपछि नेपाल सहजै हार व्यहोर्न बाध्य भयो ।

नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले मात्र दुई विकेट गुमाएर ३७.४ ओभरमै पूरा गर्‍यो । यो हारसँगै लिग–२ को शीर्ष चारभित्र रहेर सिधै आइसिसी विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको यात्रामा थप दबाब सिर्जना भएको छ ।

नामिबियाको जितमा जान फ्राइलिंक नायक बने । उनले ८९ बलमा आठ चौका र एक छक्काको मद्दतमा अविजित ७७ रन बनाए । फ्राइलिंकले संयमित इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए । अर्का ओपनर माइकल भान लिंगनले पनि ७९ बलमा सात चौकासहित ५१ रनको महत्वपूर्ण योगदान दिए भने जान निकोल लोफ्टी–इटन १७ रनमा अविजित रहे ।

सुरुवातमै एक विकेट गुमाएको नामिबियाले त्यसपछि फ्राइलिंक र लिंगनबीच दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि फ्राइलिंक र लोफ्टी–इटनले अविजित ५२ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।

यसअघि टस जितेर बलिङ रोजेको नामिबियाले नेपाली ब्याटिङ लाइनअपलाई सुरुदेखि नै दबाबमा राखेको थियो । पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे । चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ५० रनको साझेदारी गरे पनि त्यसलाई ठुलो स्कोरमा रूपान्तरण गर्न सकेनन् ।

नेपालको सुरुवात भने निकै निराशाजनक रह्यो । ओपनर कुशल भुर्तेल पहिलो ओभरमै दुई रन बनाएर पेभिलियन फर्किए । इशान पाण्डेले ३१ बल खेले पनि केवल आठ रन बनाउन सके । दुवैलाई नामिबियाका तीव्र गतिका बलर जेजे स्मिटले आउट गरेका थिए ।

आसिफ शेखले ४१ बलमा १६ रन बनाए भने आरिफ शेख कुनै रन नजोडी आउट भए । गुल्सनकुमार झाले २० रन, सोमपाल कामीले १५ रन तथा करण केसीले १८ रनको योगदान दिए । तर अन्य ब्याट्सम्यानले ठुलो इनिङ्स खेल्न नसक्दा नेपाल सम्मानजनक लक्ष्यसम्म पनि पुग्न सकेन ।

बलिङतर्फ नामिबियाका जेजे स्मिटले घातक प्रदर्शन गर्दै ९.५ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चेर ६ विकेट लिए । उनले नेपाली मध्यक्रमलाई ध्वस्त पार्दै खेलको दिशा परिवर्तन गरेका थिए । बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान दुई–दुई विकेट लिएर स्मिटलाई राम्रो साथ दिए ।

नेपालका बलरहरूले पनि सुरुवाती केही ओभरमा दबाब सिर्जना गर्ने प्रयास गरे पनि कम लक्ष्यका कारण उनीहरू सफल हुन सकेनन् । फ्राइलिंक र लिंगनले धैर्यपूर्वक इनिङ्स अगाडि बढाउँदै नेपाललाई खेलमा फर्किने कुनै अवसर दिएनन् ।

यो नतिजापछि लिग–२ अंकतालिकामा नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमै कायम रहेको छ । समान खेलबाट २४ अंक जोडेको नामिबिया छैटौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ भने स्कटल्यान्ड समान खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो तथा समान खेलबाट ३१ अंक बटुलेको ओमान चौथो स्थानमा रहेका छन् । क्यानडा २४ अंकसहित सातौं तथा युएई १४ अंकसहित पुछारमा छ ।

विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि अब बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण बनेका छन् ।

नेपालले यो शृंखलाको दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि आगामी सोमबार फेरि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ भने दुई दिनपछि नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार