धनगढी । चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयन तथा आफ्ना पाँचबुँदे माग पूरा गराउन अनिश्चितकालीन सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसी लाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्त ले शुक्रबार बिहान डा. केसीलाई औपचारिक रूपमा पत्र बुझाइएको जानकारी दिए। उनका अनुसार डा. केसीले समितिलाई पूर्वसूचना वा अनुमति नलिई धर्मशालामा सत्याग्रह सुरु गरेका कारण व्यवस्थापन पक्ष अप्ठ्यारोमा परेको हो।
अध्यक्ष पन्तले धार्मिक तथा सामाजिक उद्देश्यका लागि सञ्चालन गरिएको धर्मशालामा अनिश्चितकालीन अनसन गर्न दिइएको विषयलाई लिएर विभिन्न पक्षबाट प्रश्न उठ्न थालेको र बाह्य दबाबसमेत बढेकाले धर्मशाला खाली गर्न अनुरोध गरिएको बताए। उनले समितिले कुनै राजनीतिक वा आन्दोलनकारी गतिविधिको पक्ष वा विपक्षमा नभई धर्मशालाको नियमअनुसार निर्णय गरिएको स्पष्ट पारे।
उता, धर्मशाला व्यवस्थापन समितिबाट पत्र प्राप्त भएपछि अब सत्याग्रहलाई कहाँबाट निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसी ले जानकारी दिए। उनका अनुसार डा. केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने अडान कायम राखेका छन्।
डा. केसीले बिहीबारदेखि धनगढीमा पाँचबुँदे माग राख्दै अनिश्चितकालीन सत्याग्रह सुरु गरेका हुन्। उनका मागहरू मुख्यतः चिकित्सा शिक्षा सुधार, स्वास्थ्य क्षेत्रका नीतिगत सुधार तथा सरकारले विगतमा गरेका सहमति र प्रतिबद्धता कार्यान्वयनसँग सम्बन्धित रहेका छन्।
यस घटनापछि डा. केसीको सत्याग्रह कहाँबाट सञ्चालन हुने भन्ने विषय चासोको केन्द्र बनेको छ भने व्यवस्थापन समिति र आन्दोलनरत पक्षबीच वैकल्पिक स्थानको खोजीबारे छलफल जारी रहेको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया