भाद्र ४, २०८३ बिहिबार August 20, 2026

‘भ्रष्टाचारविरुद्ध प्रश्न निर्मम र गहिरो हुन्छ’ : सांसद सुनार

प्रहरी खरिदमा विचौलियाको चलखेल, हेडक्वार्टर नै कब्जा भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित विचौलियाहरूले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै सुनारले यस्तो दाबी गरेका हुन् ।

समितिको यसअघिको बैठकले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको स्मरण गराउँदै उनले माग गरिएका कागजात प्राप्त भए–नभएकोबारे समितिलाई जानकारी गराउन सभापतिसँग आग्रह गरे ।

प्रहरीले पछिल्लो समय पनि करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै उनले खरिद प्रक्रियामाथि प्रश्न उठाए । ‘निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने ।

यसअघि समितिमा आफूले उठाएका प्रश्नमा आफू अडिग रहेको भन्दै सुनारले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको लागे अदालत जान चुनौती दिए ।

‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु । कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने अदालत गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा म उभिएर जवाफ दिनलाई म तयार छु ।’

उनले समितिको बैठकमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाए । कुनै विषय नियमावलीविपरीत भए समितिका सभापतिले तत्काल रुलिङ गर्नुपर्ने भन्दै एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए ।

जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार राख्ने उनको भनाइ थियो ।

‘बोल्दै गरेको वक्ता पनि त्यहीँ निर्वाचित सांसद हो, जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो । यहाँ प्रत्येक सांसद सार्वभौम छ,’ सुनारले भने ।

सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने भन्दै उनले सार्वजनिक लेखा समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए ।

‘पहिलेको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन,’ उनले भने, ‘प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तल्लैबाट हुन्छ ।’

आफ्नो प्रश्न गर्ने शैली अमर्यादित वा अस्वाभाविक लागे सभापतिले आफूलाई समितिबाट हटाउन सक्ने भन्दै सुनारले आफू त्यसका लागि तयार रहेको बताए ।

‘प्रश्नकर्ता वक्ता अस्वाभाविक, अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनुहोला, म दैलेखको नाइट बस चढ्न तयार छु,’ उनले भने ।

तर समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रियासम्बन्धी विषयमा आफूले कडा प्रश्न उठाइरहने उनले स्पष्ट पारे । ‘यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ,’ सुनारले भने ।

उनले अनियमितता र भ्रष्टाचारविरुद्ध सार्वजनिक लेखा समिति थप निर्मम बन्नुपर्ने बताए ।

समितिको यसअघिको बैठकमा प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता भएको विषयलाई लिएर सांसद सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच विवाद भएको थियो । सोही विषयमा सुनारले बिहीबारको बैठकमा आफ्नो धारणा तथा स्पष्टीकरण दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया