भाद्र ९, २०८३ मंगलबार August 25, 2026

स्पेनिस ला लिगा : बार्सिलोनाले एल्चेलाई फराकिलो अन्तरले हरायो

एल्चेलाई ५–० ले हराउँदै बार्सिलोनाको सानदार सुरुआत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा सानदार सुरुआत गरेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिन्हा, करिम एडेयेमी र फेर्मिन लोपेजले गोल गरे।

एल्चेविरुद्धको खेलमा बार्सिलोनाका नयाँ खेलाडीहरूले पनि प्रभावशाली प्रदर्शन गरे। खेलको १४औँ मिनेटमा राफिन्हालाई भिक्टर चुस्टले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयमा बोरुसिया डर्टमन्डबाट बार्सिलोना आएका करिम एडेयेमीले राफिन्हाको पासमा गोल गर्दै अग्रता २–० बनाए। एडेयेमीले डेब्यु खेलमै गोल गरेका हुन्।

दोस्रो हाफमा लामिन यामालको स्थानमा एन्थोनी गोर्डन मैदान प्रवेश गरे। न्युक्यासलबाट बार्सिलोना आएका गोर्डनले मैदान प्रवेश गरेको केही समयमै उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलका लागि अवसर सिर्जना गरे।

उनले राफिन्हालाई गोलका लागि पास उपलब्ध गराउँदै पहिलो असिस्ट गरे। त्यसपछि फेर्मिन लोपेजलाई उत्कृष्ट पास मिलाएपछि लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता थप फराकिलो बनाए।

खेलको अन्तिमतिर लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए। यससँगै बार्सिलोनाले नयाँ सिजनमा प्रभावशाली तीन अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड र भिल्लारियलले २–२ को बराबरी खेले भने गेटाफेले रेसिङ डि सान्टान्डरलाई १–० ले पराजित गर्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया