भाद्र ११, २०८३ बिहिबार August 27, 2026

१४औँ सागमा २८ खेल समावेश, नेपालबाट ६८५ जनाको सहभागिता हुने

प्रतियोगितामा सात देशका ३ हजार १७२ खेलाडी र १ हजार १९ अफिसियल गरी ४ हजार १९१ जनाको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) मा २८ खेल समावेश हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार २८ खेलमा ३४६ स्वर्ण, ३४६ रजत र ५१५ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात देशका ३ हजार १७२ खेलाडी र १ हजार १९ अफिसियल गरी ४ हजार १९१ जनाको सहभागिता रहने प्रारम्भिक अनुमान छ ।

नेपालबाट ५३२ खेलाडी र १५३ अफिसियल गरी ६८५ जनाको सहभागिता रहनेछ । प्रतियोगिता पाकिस्तानका इस्लामाबाद, लाहोर र पेशावरमा सञ्चालन हुनेछ । इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा तीन खेल आयोजना हुनेछन् भने उद्घाटन समारोह इस्लामाबादस्थित करिब ५० हजार दर्शक क्षमताको जिन्ना स्टेडियममा हुने एनओसीले जनाएको छ ।

यसैबीच, निर्धारित समयमै साग सम्पन्न गर्न नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिले पाकिस्तानको ओलम्पिक कमिटी तथा सरकारसँग समन्वय गरी प्रतियोगिता समयमै आयोजना गर्न सहजीकरण गर्नेछ । पाकिस्तानी पक्षले पनि साग निर्धारित मितिमै आयोजना हुने र यसबारे आशंका नगर्न आग्रह गरेको एनओसीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया