मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ।  नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

उक्त सहायता कक्षमा रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीबाट घाइते भई उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन तथा अझै सम्पर्कमा नआएका व्यक्तिका आफन्तले विवरण टिपाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालनमा ल्याएको सहायता कक्षमा घाइतेका आफन्तजन पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । सहायता कक्षमा आफन्तजनको भीडसमेत लागेको छ ।

बाढीमा परी घाइते भएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिका आफन्तले सहायता कक्षमा नाम तथा विवरण टिपाइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको छ । त्यहाँ टिपाइएको नामको आधारमा हामीले खोज तथा उद्धार टोलीलाई जानकारी दिनेछौँ ।”

बाढीमा परी घाइते भई उद्धार गरेर काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया