भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व

मधेशका सबै जिल्लामा यो पर्व मनाइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, १२ भदौ: मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने यो मिथिला परम्पराको महत्वपूर्ण पर्व हो।

पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम र परोपकारी भावको कामना गर्दै दाहिने हातको नाडीमा ‘राखी’ (धागोको कलात्मक डोरा तथा रक्षासूत्र) बाँध्ने गर्छन् । मधेशका सबै जिल्लामा यो पर्व मनाइन्छ।

हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । तर यहाँ दिदीबहिनीले दाजुभाइलाई रङ्गीबिरङ्गी राखी बाँध्ने चलनले यो पर्वलाई विशेष बनाएको गौशाला–११ कालीपुरकी शिक्षक सुनिता महतो बताउनुहुन्छ ।

राखी पर्वका लागि केही दिनअघिदेखि नै मधेशका बस्तीबस्तीका हाटबजारमा विभिन्न रङ्गका कलात्मक राखी बिक्रीका लागि राखिन्छन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने गीत गुञ्जिरहेका छन् । पर्वका कारण यहाँको परिवेश राखीमय बने पनि यसपालि पर्वको मुखैमा आएको भोटेकोशीको बाढीले पु¥याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहेको मिथिलानी बताउँछन् ।

“सदियौँदेखि चलिआएको पारम्परिक पर्व हो, हामी मनाउँदै छौँ,” बर्दिबास–२ की अर्चना झाले भन्नुभयो, “तर यसपालि बुधबारको भोटेकोशी बाढीले धेरै क्षति पु¥याएको छ। महोत्तरीकै कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन् । यस्तो अवस्थामा केको उल्लास हुनु ?”

आपत् आइपरे पनि त्यसलाई केही समय थाती राख्दै चाडपर्व र परम्परा जोगाउनु नेपाली संस्कृतिको विशेषता भएकाले असहज परिवेशबीच पनि पर्व मनाइरहेको उहाँले बताउनुभयो ।

पर्वका लागि दिदीबहिनीले टाढाटाढा काममा रहेका दाजुभाइलाई एक साताअघिदेखि नै निम्ता गरिसकेका छन् । विवाहित दिदीबहिनीले धेरैजसो दाजुभाइलाई पर्व मनाउन आफ्नै घरमा बोलाउने चलन छ । अनुकूलताअनुसार दिदीबहिनी माइती पनि जाने गर्छन् । अविवाहित दिदीबहिनी आफ्ना दाजुभाइसँगै एकै घरमा रहने भएकाले उनीहरूका लागि भने थप सहज हुन्छ। एकै घरमा रहे पनि दिदीबहिनीले घरकै दाजुभाइलाई समेत एक दिनअघि राखीको निम्ता दिने चलन छ ।

पर्वमा दिदीबहिनीले दाजुभाइलाई सम्झने र दाजुभाइले दिदीबहिनीको निम्ता मान्ने स्थापित मैथिल परम्परा रहेको मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउनुहुन्छ ।

राखी पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मिष्टान्न परिकार खुवाउने चलन छ । त्यसैगरी दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने गर्छन् । मैथिल समुदायले यस पर्वलाई आपसी प्रेम, सद्भाव र समर्पणभावसँग जोडेर हेर्ने गरेका छन्।

यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक परम्परा र संस्कृतिसँग जोडिएको संस्कृतिविद् जलेश्वर–५ पतैलीका ध्रुव राय बताउनुहुन्छ । उहाँका अनुसार मिथिलामा यो पर्व विभिन्न जातजाति, धर्मसम्प्रदाय र फरक संस्कृति भएका समुदायले समेत आपसमा मिलेर मनाउने गर्छन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन् । कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा मनाइने भैयादूज तथा सोही पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व पनि दिदीबहिनीले दाजुभाइप्रति समर्पणभाव प्रकट गर्ने प्रमुख पर्वमा पर्छन् । अहिले भने दिदीबहिनी राखी पर्वको तयारीमा जुटेका छन् ।

सत्ययुगमा तीनै लोकका अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको विजय भएको सम्झनामा यो पर्वको परम्परा चलेको जनविश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार