नेपालगञ्ज । बाँकेमा ६ हजार भन्दा बढी किशोरीलाई लक्षित गरी एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने भएको हो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार खोप अभियानको सुरुआत विद्यालयबाट गरिनेछ । विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदाय स्तरका १० वर्षका किशोरीलाई खोप लगाइने पौडेलले बताउनुभयो ।
बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने विषयमा समेत छलफल भएको छ । बाँकेमा ८ ओटै पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइन्छ । एचपीभी भाइरसका केही प्रकारले पछि गएर पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । किशोरी अवस्थामा, भाइरसको सम्पर्कमा आउनु अघि खोप लगाउँदा सबैभन्दा राम्रो सुरक्षा प्राप्त हुन्छ । यो रोकथामका लागि दिइने खोप हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया