भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला

महिलाहरू आफ्नै मौलिक पहिरनमा बलिरहेको दियो र रङ्गीचङ्गी फूल लिएर मटावाँको घरमा पुग्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, भदौ १९ गते । थारू समुदायका महिलाले शुक्रबारदेखि अष्टिम्की पर्व मनाउँदै छन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने अष्टिम्की यस वर्ष पनि विभिन्न परम्परागत विधि पूरा गरी मनाइँदैछ ।

दुई दिनसम्म धुमधामका साथ मनाइने अष्टिम्की थारू समुदायका महिलाले विशेष रूपमा मनाउने पर्व हो । पर्वको अघिल्लो दिन महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन् । साँझ अष्टिम्की पूजा गरिन्छ भने दोस्रो दिन व्रत समापनसँगै विभिन्न परम्परागत विधि पूरा गरिन्छ ।

घोराही उपमहानगरपालिका–१२, हापुरकी सुशीला चौधरीका अनुसार अष्टिम्कीको पहिलो दिन बिहानै मटावाँको घरको बैठक कोठाको उत्तरतर्फको भित्तालाई लिपपोत गरी सेतो चुनले रङ्गाएपछि श्रीकृष्णको जीवनीसँग सम्बन्धित चित्र कोर्ने गरिन्छ ।

भित्तामा बनाइने चित्रमा श्रीकृष्ण अर्थात् कान्हासँगै सूर्य, चन्द्रमा, कौरवका सात भाइ, दुलाहा–दुलही, दुलहीलाई पठाउन प्रयोग गरिने ‘डोली’ र दुलाहालाई पठाउन प्रयोग गरिने ‘ड्वाला’ लगायतका चित्र समावेश गरिन्छ । त्यस्तै माछा, गंगटा, बाघ, हात्ती, मयूर, सर्प, गाईलगायत विभिन्न चराचुरुङ्गी तथा जनावरका चित्रसमेत कोर्ने परम्परा छ ।

“अष्टिम्कीको दिन भित्तामा कोरिने चित्र हाम्रो संस्कृति, परम्परा र सभ्यता पनि हो,” चौधरीले भन्नुभयो, “चित्र बनाइसकेपछि साँझ गाउँभरिका महिला नजिकैको खोलामा स्नान गरेर पूजा गर्न मटावाँको घरमा जम्मा हुन्छन् ।”

महिलाहरू आफ्नै मौलिक पहिरनमा बलिरहेको दियो र रङ्गीचङ्गी फूल लिएर मटावाँको घरमा पुग्ने गर्छन् ।

गाउँभरिका महिला जम्मा भएपछि मटावाँकी श्रीमतीबाट अष्टिम्की पूजाको सुरुवात हुने परम्परा रहेको चौधरीले बताउनुभयो । “पूजापाठ गर्दा निकै रमाइलो हुन्छ । ठुलाबाट सानाले क्रमशः पूजा गर्ने चलन छ । पूजासँगै सामूहिक रूपमा अष्टिम्कीका गीत गाउने प्रचलन छ,” उहाँले भन्नुभयो ।

पूजा सकिएपछि महिलाहरू घर–घरमा पुगेर फलफूल र दही खाने गर्छन् । त्यसपछि पुनः मटावाँको घरमा जम्मा भएर रातभर अष्टिम्कीका गीत गाउँदै जाग्राम बस्ने परम्परा छ ।

अष्टिम्कीको दोस्रो दिन बिहान महिलाहरूले पुनः अष्टिम्की टिकेर पूजा कार्य सम्पन्न गरेपछि पूजामा प्रयोग भएका सबै सामग्रीसहित बलिरहेको दियो, ज्यामिरे र फूलहरू नजिकैको खोलामा लगेर सेलाउने गर्छन् । खोलामा पूजाका सामग्री सेलाएपछि नुहाइधुवाइ गरेर घर फर्किने र विभिन्न मिठामिठा परिकार खाँदै अष्टिम्की पर्वको समापन गर्ने गरिन्छ ।

अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायका महिलाले उल्लासमय वातावरणमा मनाउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार