ख्वप (भक्तपुर), १९ भदौः आज कृष्ण जन्माष्टमीको अवसरमा पहिलोपटक भक्तपुरको कृष्ण मन्दिरका चारै ढोका खुला गरी दिनभरि दर्शन तथा पूजाको व्यवस्था गरिएको छ । अन्य समयमा मन्दिरको पूर्वतर्फको एउटामात्र ढोका बिहान पूजाको समयमा मात्र खोल्ने गरिएकामा आज दिनभरि खुला गरी भक्तजनलाई पूजाको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आजै मन्दिर परिसरमा रुद्री पूजा आयोजना गरिनुका साथै विशेष आरतीसहित मन्दिरमा दीपप्रज्वलन पनि आयोजना हुन लागेको मन्दिरका पुजारी अञ्जन शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार अन्य दिनहरूमा बिहानको समय एउटामात्र ढोका खोल्ने गरिएकामा आज भने मन्दिरका चारवटै ढोका खुला गरिएको हो ।
पाटनको कृष्ण मन्दिरभन्दा २०० वर्ष पुरानो भक्तपुरको दरबार स्क्वायरस्थित यो मन्दिरको चारै ढोका खुला गरेपछि आज भक्तजनको घुइँचो लागेको छ । यसैबीच, मन्दिरमा आज दिनभर मेला लागेको छ । भक्तपुर दरबार स्क्वायरको पश्चिमी प्रवेशद्वार खौमाबाट प्रवेश गर्नेबित्तिकै देखिने पहिलो प्यागोडा शैलीको ऐतिहासिक यस मन्दिरलाई गोपीनाथ, द्वारिकानाथ र राधाकृष्ण मन्दिर पनि भनिन्छ ।
भक्तपुर नगरपालिका-२ व्यासीका सत्यसुन्दर सुवालले आज कृष्णअष्टमीको दिन मन्दिरको चारै ढोका खोलेर भक्तजनलाई दर्शन गर्न दिइएकोप्रति सकारात्मक प्रत्रिक्रिया दिनुभयो । मन्दिरका ढोका, झ्याल र टुँडालहरूमा भगवान् विष्णुका अवतार तथा अन्य देवीदेवताका अतिआकर्षक एवं कलात्मक काष्ठकला कुँदिएका छन् ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरमा रहेको कृष्ण मन्दिरको वास्तविक नाम गोपीनाथ हो । नेपाल संवत् ८७७ को राजा रणजित मल्लको ताम्रपत्रका आधारमा यो मन्दिरको नाम गोपीनाथ राखिएको इतिहासमा प्रष्ट उल्लेख गरिएको संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो । “यसलाई द्धारिकानाथ पनि भन्ने गरिन्छ । यो मन्दिर पाटनको कृष्ण मन्दिरभन्दा २०० वर्ष पुरानो भएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।
भक्तपुरको दरबार स्क्वारमा अवस्थित गोपीनाथ मन्दिर राजा यक्ष मल्लको पलामा बनेको संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो । “त्यस्तै ललितपुरस्थित पाटनको कृष्ण मन्दिर सिद्धिनरसिंह मल्लले निर्माण गर्नुभएको हो । भक्तपुरको दरबार स्क्वायरमा अवस्थित चारधाममध्ये गोपीनाथ पनि एक हो”, उहाँले भन्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया