भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

सञ्चारमन्त्रीद्वारा शिक्षण अस्पतालमा उपचाररत बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि यहाँ ल्याइएका ७८ जनामध्ये २९ जना उपचाररत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ भदौः नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएकामध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

सञ्चारमन्त्री तिमिल्सिना आज दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिनुभएको हो । उहाँले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी उहाँहरूको स्वास्थ्य अवस्था, उपचारका क्रममा कुनै समस्या भए/नभएकोलगायत अस्पतालबाट प्राप्त भइरहेको स्वास्थ्य सेवाबारे समेत जानकारी लिनुभएको थियो ।

अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि यहाँ ल्याइएका ७८ जनामध्ये २९ जना उपचाररत छन् । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ । अस्पतालका अधिकारीहरूले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेका जानकारी मन्त्री तिमिल्सिनालाई गराउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गर्नुभयो । उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढीमा परी घाइते भएका र उद्धार गरिएका तथा प्रभावित व्यक्तिलाई काठमाडौँ ल्याइ विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइएको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारको निरन्तरता तथा आवश्यक व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार