भाद्र २५, २०८३ बिहिबार September 10, 2026

ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

उपाधि विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमै ६० रनमा समेटियो। ओमानका जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन्।

नेपालको बलिङमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललित राजवंशी र कप्तान रोहित पौडेलले समान दुई विकेट हात पारे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

ओपनर देव खनालले १३ र आसिफ शेखले ११ रन जोडे। ईशान पाण्डे १, कप्तान रोहित पौडेल ३, गुलशन झा ७, करण केसी ५ तथा सन्दीप लामिछाने ३ रनमा आउट भए।

ओमानका बलर जय विरम ओडेडारा र हस्नइन शाहले समान तीन–तीन विकेट लिए भने मुहम्मद इमरानले दुई विकेट हात पारे। मुजीबुर अली र शकिल अहमदले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले उपाधिका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ। युएईले हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ। उपाधि विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया