भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

बागलुङका १० वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम हुँदै आए पनि प्रभावकारी देखिएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, २६ भदौः बागलुङमा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या अधिक रहेको पाइएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ३६२ पुगेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । सचेतनाको अभावले जिल्लाका दुर्गम क्षेत्रमा कानुनले बर्जित गरेको बालविवाह अझै भइरहेको उमेर नपुग्दै आमा बन्नेको सङ्ख्याले पुष्टि गरेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार जिल्लाभर आर्थिक वर्ष २०८२÷८३ मा ३६२ किशोरी आमा बनेका थिए । उनीहरूले बागलुङका विभिन्न स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका हुन् । बीस वर्षभन्दा कम उमेर समूहका ३८८ किशोरीले पहिलोपटक गर्भजाँच गराएका थिए ।

“उमेर नपुग्दै विवाह गर्न पाइँदैन तर यहाँ २० वर्ष नपुग्दै आमा बनेका किशोरीको सङ्ख्या उच्च छ”, शर्माले भन्नुभयो, “शरीर परिपक्व नहुँदै आमा बन्दा विभिन्न जटिल स्वास्थ्य समस्या देखिने, मातृशिशु मृत्युदर बढ्ने र दीर्घकालीन रूपमा आमालाई स्वास्थ्य समस्या आउने जोखिम हुन्छ ।”

आव २०८१÷८२ मा २० वर्षभन्दा कम उमेरका ३०८ किशोरी आमा बनेका थिए । यस्तै आव २०८०÷८१ मा ३६० किशोरी आमा बनेको विवरण छ ।

विश्व स्वास्थ्य सङ्गठनले गर्भवती भएदेखि सुत्केरी हुने समयसम्म आपत्कालीनबाहेक नियमित रूपमा आठपटक गर्भजाँच गर्नुपर्ने बताए पनि बागलुङमा भने गर्भको पहिचान भएपछि सुत्केरी हुने समयसम्म जाँच गर्ने किशोरीको सङ्ख्या न्यून छ । पहिलो गर्भ जचाउनेभन्दा दोस्रो गर्भ जचाउनेको सङ्ख्या क्रमशः कम देखिएकाले सचेतनाको अझै खाँचो देखिएको छ ।

कानुनमा बर्जित गरिएको बालविवाह रोक्न बागलुङका १० वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम हुँदै आए पनि प्रभावकारी देखिएको छैन । एकीकृत सेवा कार्यालयले गाउँगाउँमा पुगेर बालविवाहलगायतका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीका अनुसार बालविवाहका बारेमा आम जानकारी प्राप्त नहुने अवस्था छ । निसीखोलामा स्वास्थ्य सूचकमा वृद्धि भए पनि अशिक्षा, चेतनाको अभावमा दूरदराजका महिला अझै गोठमा सुत्केरी हुने गरेको उहाँको अनुभव रहेको छ ।

कमजोर आर्थिक अवस्था, सचेतनाको कमी, सामाजिक र पारिवारिक दबाबका कारणले पनि बागलुङका गाउँगाउँमा किशोरावस्थामा विवाह हुने गरेको छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन् । बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषणा भएको छ । अन्य स्थानीय तह प्रक्रियामा छन् ।

बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएकै स्थानीय तहका किशोरी धमाधम आमा बनिरहेका छन् । शून्य बालविवाह भएको भन्दै बालमैत्री घोषणा गरिएको स्थानीय तहमा उमेर नपुग्दै सुत्केरी भएको पाइएको छ । धवलागिरि प्रादेशिक अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाका अनुसार कम उमेर समूहका गर्भवतीमा पोषण नपुग्ने, सामान्य सुत्केरी हुन नसक्ने, लामो प्रश्रव पीडा हुने, रगत बग्नेजस्ता समस्या देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया