कार्तिक २८, २०८३ शनिबार November 14, 2026

गोकर्णेश्वरमा आज पितृ सम्मान गरियो

विगत वर्षमा भन्दा यस वर्ष मन्दिर क्षेत्र प्रवेश गर्न सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ भदौः लामो समयपछि गोकर्णेश्वर महादेव मन्दिरमा पितृ सम्मान गर्न आएका भक्तजनले सहज रूपमा वाग्मती तटस्थित नदीकिनारमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् । यस वर्ष नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि माकालबारीतिरको सडकबाट धेरै भक्तजन जान पाएकाले सहज रूपमा पितृ सम्मान गर्ने अवसर प्राप्त भएको आगन्तुहरूको भनाइ छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाका लागि आएका भक्तजनलाई सहज भएको हो । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अग्रसरतामा नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काइएको हो ।

यो पर्खाल पछाडि सारेर यहाँबाट दक्षिणढोका निस्कने बाटो खुलाउन गोकर्णेश्वर नगरपालिकाका निर्वाचित नगरप्रमुख सन्तोष चालिसेको पालादेखि माग हुँदै आएको थियो । लामो समयदेखिको मागपछि पनि पर्खाल नभत्किएका कारण प्रत्येक वर्ष भाद्रपद कृष्ण पक्षको औँसीमा लाग्ने गोकर्णेश्वरको पितृ सम्मान मेलामा अप्ठ्यारो हुने गरेको थियो । यो पर्खाल भत्काएपछि यस वर्ष गोकर्णेश्वर मेला सहज रूपमा व्यवस्थापन गर्न सकिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।

बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आएका हुन् । मेलाका लागि लागि बुधबारदेखि तयारी गरिएको थियो ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सिन्धुलीबाट आउनुभएका रामचन्द्र बरालले विगत वर्षमा भन्दा यस वर्ष मन्दिर क्षेत्र प्रवेश गर्न सहज भएको बताउनुभयो । बाटो फराकिलो भए पनि माटो नपन्छाएका कारण हिलोले गर्दा भने समस्या भएको उहाँले बताउनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको लाम लागेको छ । मेलाका लागि आज नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार