मुस्ताङ, भदौ २७ गते । यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् ।
लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो । लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्णरूपमा क्षति भएका गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले भदौ २३ गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित ८० प्रतिशत घरमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार भूकम्पले अधिकांश घर चर्किएका छन् भने करिब ६० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छन् । अध्यक्ष गुरुङले भूकम्पपछि पनि पटक पटक पराकम्पनको असर परिरहेको जनाउनुभयो ।
भूकम्पले स्थानीयका घर र विद्यालय चकिनुका साथै मानवीय क्षति नभए पनि जोखिम भने बढेको उहाँले बताउनुभयो । जोखिम अझै कायम रहेकाले क्षति भएका घरका स्थानीय, विद्यालयका शिक्षक तथा विद्यार्थी खुल्लाचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएका उहाँले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित स्थानीय र विद्यालयका लागि वैकल्पिकरूपमा स्थानीयस्तरबाटै आवश्यक व्यवस्था मिलाइएको बताउँदै पालिका स्वयं पनि त्रिपाल खरिद गर्ने प्रक्रियामा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले भूकम्पको क्षति लगत सङ्कलन गरिरहेकाले पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने जनाइएको छ ।
भूकम्पले सबैभन्दा क्षति लोमान्थाङ-३ फुवा गाउँमा परेको छ । फुवामा करिब ५०० बढी घर बस्न नमिल्ने गरी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । अन्य वडामा पनि भूकम्पको असरले अधिकांश घर चकिएर धुजा परेका स्थानीय बताउँछन् । भूकम्प प्रभावित नागरिकले सरकारले भूकम्प पीडितका लागि पुनः स्थापना तथा पुनः निर्माणमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।
उक्त भूकम्पले विद्यालयको छात्रावास भवन, शिक्षक आवास र भण्डारणका भवनमा क्षति पुगेको दिव्यदीप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेसकुमार त्रिपाटीले जानकारी दिनुभयो । विद्यालयको दुई तलाको ३४ कोठे ढुङ्गा र माटोले बनेका छात्राबासको अधिकांश भाग चर्किएका उहाँले उल्लेख गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया