भाद्र २८, २०८३ आइतबार September 13, 2026

कृष्ण भीरमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भएपनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भीरमा अवरुद्ध सडक परीक्षणका रूपमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फसेका ट्रक र ग्यास बुलेटहरू कृष्ण भीर सडक पार गराइएको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो ।

तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भएपनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने छ ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो ।

भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोली आजदेखि परीक्षणका रूपमा एकतर्फी सडक सञ्चालनमा ल्याइएको इन्जिनियर ढकालले जानकारी दिनुभयो ।

कृष्ण भीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सो सडक बन्द हुँदा वैकल्पिक मार्ग सीमित भएकाले यात्रुले घुमाउरो बाटो प्रयोग गर्नुपरेको भने दैनिक उपभोग्य सामग्री तथा अन्य सामानको ढुवानीसमेत प्रभावित भएको छ ।

केही दिनभित्रै काम सम्पन्न गर्ने गरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक १४ हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया