असोज १, २०८३ बिहिबार September 17, 2026

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), १ असोजः झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको छ ।

“जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक तयारी गरिएको छ ।”

अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ ।

अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् । देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताउनुभयो ।

“खोप पूर्णरूपमा सुरक्षित छ । खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसबाट स्वास्थ्यमा गम्भीर समस्या हुँदैन,” उहाँले भन्नुभयो, “लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।”

उहाँले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया