चितवन, १ असोजः जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन् । जिल्लामा सबैभन्दा बढी सङ्क्रमण रत्ननगर नगरपालिकामा ३० जना डेङ्गुका सङ्क्रमित रहेका जनाउँदै उहाँले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताउनुभयो ।
यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले सङ्क्रमित सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्नुभयो । डेङ्गुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया