असोज १५, २०८३ बिहिबार October 1, 2026

कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित: मन्त्री चौधरी

काठ उत्पादनका लागि ‘काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले रासायनिक मलको आपूर्ति अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालमा समेत असर पर्ने बताउनुभयो । यस वर्षका लागि उपलब्ध रासायनिक मललाई व्यवस्थित गर्ने र आगामी दिनमा उद्योग स्थापना तथा स्वदेशमै उत्पादनको सम्भावनालाई अघि बढाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।

मन्त्री चौधरीले कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने, वन क्षेत्रलाई उद्योगसँग आबद्ध गर्ने तथा काठको वैज्ञानिक उत्पादन र प्रवर्द्धन गर्ने भन्ने विषयमा सम्बन्धित निकाय तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग समेत छलफल भइरहेको बताउनुभयो ।

काठ उत्पादनका लागि ‘काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख गर्दै मन्त्री चौधरीले ती विषयलाई सम्बन्धित ऐनमा समेट्ने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

मल व्यवस्थापनमा चुनौती:  सचिव मिश्र

सो अवसरमा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले माग अनुसारको आपूर्ति नहुँदा रासायनिक मल व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो ।

उहाँले  रासायनिक तथा प्राङ्गारिक मलको आपूर्ति र वितरण प्रणालीमा सुधारका लागि विभिन्न कार्यक्रम अघि बढाइको जानकारी दिनुभयो ।

रासायनिक मलको माग र आपूर्तिबिच ठूलो अन्तर रहेको उल्लेख गर्दै सचिव मिश्रले भन्नुभयो, “हामीलाई करिब आठदेखि साढे आठ लाख टन मल आवश्यक पर्छ, अहिले पाँचदेखि साढे पाँच लाख टनको हाराहारीमा मात्रै आपूर्ति भएको छ ।”

उहाँले रासायनिक मल वितरण प्रणालीलाई भरपर्दो र सन्तुलित तुल्याउन स्थानीय तहसम्म अनुगमन चुस्त बनाइएको जानकारी दिनुभयो । सचिव मिश्रले मल वितरण प्रणालीमा देखिएका कमजोरी सुधारका लागि मन्त्रालय निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया