असोज २०, २०८३ मंगलबार October 6, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग गर्दै रविलाइ बुझाए ज्ञापनपत्र

नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन। यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहनुभएका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको उहाँले बताउनुभयो । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ ।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि बढ्ने आश्वासन दिनुभएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया